दरबारमार्गमा २३औं काग सम्मेलन, रमेश दुलालले बोलाए सयौं काग
काठमाडौं । काग तिहार २०८३ को अवसरमा चर्चित एबम बहुप्रतिभाशाली कलाकार रमेश दुलाल ‘कागे’ले काठमाडौंको दरबारमार्गस्थित नारायणहिटी दरबार संग्रहालय अगाडि सयौँ काग बोलाएर २३औँ काग सम्मेलन गरेका छन् ।
शनिबार बिहान कागको आवाज निकाल्दै दुलालले आकाशमा उडिरहेका कागलाई एकै ठाउँमा जम्मा पारेका हुन् । राष्ट्रिय संगीतकर्मी संघ केन्द्रीय कार्यसमितिको आयोजना तथा इलामको सन्दकपुर गाउँपालिकाको सह-आयोजनामा सम्मेलन गरिएको हो ।
कार्यक्रमको मुख्य प्रायोजकमा एनआरएनए वरिष्ठ उपाध्यक्ष रोबिन शेरचन, प्रायोजकमा एनआरएनए उपाध्यक्ष प्रवीण गुरुङ तथा सहप्रायोजकका रूपमा पूर्णप्रसाद लामिछाने, राजेश कार्की, रुद्रप्रसाद चापागाईं, शंकरप्रसाद आचार्य, ग्रीन सिटी हस्पिटल र कोरा होलिडेजलगायतको सहयोग रहेको थियो ।
काग तिहारको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई उजागर गर्नुका साथै नेपाली मौलिक परम्पराको संरक्षण र चराचुरुङ्गीप्रति सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको आयोजकले जनाएको छ ।
काग तिहार यमपञ्चकको पहिलो दिन मनाइने पर्व हो । नेपाली हिन्दू परम्परामा कागलाई यमराजको दूतका रूपमा मानिन्छ । कागले शुभ समाचार ल्याउँछ भन्ने धार्मिक विश्वासका साथ यस दिन कागलाई मीठा खानेकुरा दिएर पूजा गर्ने चलन छ । प्रकृतिको सरसफाइमा महत्त्वपूर्ण भूमिका खेल्ने कागलाई सम्मान गर्ने पर्वका रूपमा समेत काग तिहारलाई लिइन्छ ।
कागको आवाज हुबहु निकाल्न सक्ने विशेष खुबी भएका दुलालले विगत २३ वर्षदेखि काग तिहारका अवसरमा काग सम्मेलन गर्दै आएका छन् । उनले कागसहित १७३ प्रकारका जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्न सक्ने कला प्रस्तुत गर्दै आएका छन् । मुखकै सहायताले विभिन्न बाजाको धुनसमेत निकाल्न सक्ने दुलालको यो कला दर्शकका लागि आकर्षणको विषय बन्ने गरेको छ ।
गत वर्ष २२औँ काग सम्मेलन गरेका दुलालले यस वर्ष २३औँ सम्मेलन आयोजना गरेका हुन्। उनले विगतमा रत्नपार्क, नारायणहिटी दरबार संग्रहालयलगायत विभिन्न स्थानमा काग सम्मेलन गर्दै आएका छन् ।
दुलालका अनुसार कागलाई बोलाउँदा उसको स्वभाव र भाषा बुझेर आवाज निकाल्नुपर्छ । कागसँग उसको भाषामै संवाद गरेपछि उनीहरू आकर्षित भएर आउने उनको अनुभव छ ।
आयोजकका अनुसार काग सम्मेलनले मनोरञ्जन प्रदान गर्नुका साथै चराचुरुङ्गीको संरक्षण, जैविक विविधताको महत्त्व र वातावरणीय सन्तुलन कायम राख्नुपर्ने सन्देश दिएको छ ।
काग तिहारको परम्परालाई कलाकारितासँग जोडेर निरन्तरता दिँदै आएका दुलालको यो अभियानले नेपाली मौलिक संस्कृति र प्रकृतिप्रतिको सम्मानलाई नयाँ पुस्तामाझ चिनाउने प्रयास गरेको छ । कार्यक्रमको जनसवाल पब्लिकेशन मिडिया पार्टनरको रुपमा रहेको थियो । दुलालले विगत दुईदशकयता काग तिहारको अवसरमा कार्यक्रम गर्दै आएका छन् ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment